३२ जेठ, काठमाडौं । गर्मीमा फलफूल र पेय पदार्थ खाँदा सावधानी अपनाउन डाक्टरले सल्लाह दिएका छन् । गर्मीको महिनामा  शितलका लागि खाइने फलफूल, जुस र पेय पदार्थले स्वास्थ्यमा हानी पुर्या‍उन सक्ने भन्दै डाक्टरले सावधानी अपनाउन सुझाव दिएका हुन् ।

सडकपेटीमा फलफूल नछोपीकन र सफा पानीले नपखाली राखिने भएकाले त्यस्ता ठाउँका फलफूल खान हुँदैन । गर्मी हुने बित्तिकै बजारमा पाइने पेय पदार्थ नखान पनि डाक्टरको सल्लाह छ । त्यसको सट्टा शुद्धीकरण गरेको  पानी साथमा बोकेर हिँड्नुपर्छ । फलफूल र जुस बाहिर खानुभन्दा घरमै लगेर तातो पानीले सफा गरेर खाँदा रोग लाग्न नपाउने डाक्टरहरु बताउँछन् । यसैबीच एकहप्ता यता बालबालिकामा झाडापखाला र आउँको समस्या बढ्दै गएको पाइएको छ । कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर गणेश राईका अनुसार सडकपेटीमा राखिएका खानेकुरा र दूषित पानीको प्रयोगका कारण झाडापखाला र आउँका विरामी बढेका हुन् ।