पोखरा ३२, जेठ । पोखराको रामघाटस्थित पोखरा नर्सिङ्ग कलेजमा अध्ययनरत ओसिम गुरुङको शव ५ महिनादेखि उठ्न सकेको छैन ।

नवलपरासी रामनगर गाविस–२ सुन्दरवस्तीकी १९ वर्षीया ओसिम प्रमाणपत्र तह तेस्रो वर्षमा अध्ययनरत थिइन । गत माघ २ गते नवलपरासी कावासोती नगरपालिका वडा नंं ३ थकाली चोकका सूर्य बहादुर गुरुङको घरमा उनको रहस्यमय मृत्यु भएको थियो ।

सूर्यबहादुरका २० वर्षीय छोरा मनोज गुरुङले दिदी मनिताको जन्मदिन मनाउने भन्दै पुस २५ गते ओसिमलाई पोखराबाट घरमा बोलाएका थिए । मनोजको घरमा गएको केही दिनपछि मनोजका बुबा सूर्यबहादुर सुत्ने कोठामा ओसिम मृत अवस्थामा भेटिएकी थिइन् ।
आफन्तले आज पोखरामा पत्रकार सम्मेलन गरी ओसिमको मृत्यु आत्महत्या नभई हत्या भएको भन्दै न्यायिक छानविनको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै ओसिमका हजुरबुबा रुद्र बहादुर गुरुङले राजनीतिक पहुँचका आधारमा घटनालाई छाँयामा पारेर अपराधीलाई संरक्षण दिन खोजेको आरोप लगाउनुभयो । उहाँले न्याय नपाएसम्म निरन्तर लडिरहने बताउनुभयो ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मनोजका बुबा र आमालाई धरौटीमा अदालतले छाडी सकेको छ भने मनोज कि दिदी मोनिकालाई पनि अदालतले ८० हजार रुपैयाँ धरौटीमा छोडिदिएको छ । मनोज भने पुर्पक्षका लागि कारागारमा छन् ।

दोषीलाई बचाउन र मुद्दा फितलो बनाउन चलखेल भएको भन्दै उनका आफन्तले मानव अधिकारकर्मी, पत्रकार, र नागरिक समाजसँग न्यायको पक्षमा आवाज उठाइदिन आग्रह गरेका छन् ।

ओसिमको मृत्यु प्रकरण सत्यतथ्य छानविनको माग गर्दै चैत २९ पोखरामा नर्सिङ्ग कलेजका विद्यार्थीको अगुवाईमा बृहत ¥यालीमा समेत निकालिएको थियो ।