डोल्पा, जेठ ३२। पछिल्लो समयमा यार्सागुम्बा स्कुले विद्यार्थी, असहाय, अनाथ, बालबालिकाका लागि पनि सहारा बन्दै गएको छ ।विद्यार्थीको पढाइखर्चको आधारनै यार्सागुम्बा भएकाले यतिखेर डोल्पा, जाजरकोट, रुकुमलगायत जिल्लाका विद्यार्थी यार्साको खोजीमा हिमाली यार्सापाटनतिर लागेका छन् ।

यार्सा गुम्बा ठुला मान्छेको तुलनामा केटाकेटीले धेरै भेट्टाउने भएकाले पनि अधिकांश स्कुले बालबालिका पाटन जाने गर्दछन् ।डोल्पालीहरू र छिमेकी जिल्लाबासीहरूको मुख्य आर्थिक उपार्जनको मुख्य स्रोतनै यार्सागुम्बा भएकाले पनि यतिखेर विद्यालयनै शून्य पारेर विद्यार्थी, शिक्षक पाटनतिर लाग्ने गर्दछन् ।

डोल्पा, जाजरकोटमा, रुकुमलगायत जिल्लामा यार्सासिजनको सुरुवात भएलगत्तै सबै विद्यालयहरू बन्द हुने गर्दछन् ।यतिखेर जिल्ला शिक्षा कार्यालयले पनि अनौपचारिकरुपमा एक महिनाका लागि विद्यालय बन्दको अनुमति दिने गर्दछ ।

आफ्नो विद्यालय एक महिनाका लागि बन्द भएकाले यार्सागुम्बाको खोजीमा डोल्पाको रुपपाटन यार्सापाटनमा आएको रुकुम जिल्लास्थित आठबिसकोट दाजेका बबी विकले बताए ।बाह्र वर्षीय उनी अहिले कक्षा ७ मा पढ्दैछन् भने उनका बुबाआमा दुवै नभएकाले यार्साको खोजीमा काकासँग आएका छन् ।

यार्सागुम्बा टिपेर कमाएको पैसा केही कापी कलम किन्न र केही सामानहरू किन्नमा खर्च गर्ने उनको भनाइ छ ।आर्थिक अवस्था निकै कमजोर भएका उनी पहिलोपटक यार्सा टिप्न आएको र यसपालि एउटा पनि यार्सा नभेटिएकाले त्यसै घरफर्कन लागेको बताउँछन् ।

त्यस्तै, डोल्पा त्रिपुराकोटका बिर्खबहादुर कठायत पनि यसपालि यार्साको खोजीमा यार्सापाटनतिर लागेका छन् ।उनको पनि आर्थिक अबस्था निकै कमजोर भएकाले हरेक वर्ष यार्सा टिपेरै पढाइखर्च उठाउने गरेको उनको भनाइ छ ।

गत वर्ष यार्सा टिपेरै रु २५ हजार कमाई गरेका उनी यसपाली यार्सा टिपेर एसएलसी गरिसकेपछि जिल्ला बाहिर पढ्नजाने सोच बनाएको बताएका छन् ।अर्की त्रिपुराकोट गाविस–२ की विष्णु रुपा विष्ट पनि यसपाला यार्साको खोजीमा पाटन लागेकी थिइन् । पाटन गएको पाँच दिनमै बिरामी परेपछि खालिहात घर फर्केको उनले बताइन् ।

अहिले ११ कक्षामा पढ्दै गरेकी उनले यसपालि स्वास्थ्यले साथ नदिएकाले यार्सा गुम्बाबाट एक रुपैयाँ पनि कमाई नभएको बताइन् ।अर्का स्नातक तेस्रो वर्ष पढ्दै गरेका रत्नबहादुर विष्ट पनि यार्सा गुम्बाको खोजीमा पाटनतिर लागेका छन् ।

गत वर्ष २० दिनमै रु तीन लाख कमाएका उनी यसपाला पनि १० दिनमै रु पचास हजारको हाराहारीमा एकसय पचास बोट यार्सागुम्बा सङ्कलन गरिसकेको बताउँछन् ।घरमा कसैको पनि रोजगार नभएका उनले यसरी कमाएको पैसा, भाइबहिनीको पढाई तथा घरायसी खर्चमा लगाउने गरेको बताए ।

यसरी यार्सागुम्बाकै खोजीमा बर्सेनि हजारौँ विद्यार्थीहरू हिमाली पाटन जाने गर्दछन् भने कसैले पाटनमै मुत्युवरण गर्ने गर्दछन् ।यसरी मर्नेमा अधिकांश चिसोले र खानको सन्तुलन नमिलेर मर्ने गरेको स्थानीय त्रिपुरा मेडिकलका अहेव कबिप्रसाद उपाध्यायले बताउनुभयो । यार्साको खोजीमा पाँच वर्षीय बालकदेखि माथिका सबै पाटनतिर लाग्ने गर्दछन् । रासस