३१ जेठ, काठमाडौ । खाडीका ६ मुलुक र मलेसियाका रोजगारदाताले नै नेपाली कामदारको हवाईटिकट  भिसा शुल्क बेहोर्नुपर्ने निर्णय कार्यान्वयन भएपछि अर्बौ रुपैयाँको हुण्डी कारोबार पनि रोकिने भएको छ ।

कमिसनका लागि भन्दै म्यानपावर एजेन्सीमार्फत विदेश पठाइने हुण्डी निःशुल्क भिसा र टिकटको ब्यवस्थासँगै बन्द हुने भएको छ । श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णयबाट म्यानपावर एजेन्सीले सेवा शुल्कबापत बढीमा १० हजार रुपैयाँ लिन पाउने ब्यवस्था गरिएको  छ ।

श्रम तथा रोजगारराज्यमन्त्री टेकबहादुर गुरुङ रोजगारदाताले कामदार लिँदा भिसा र टिकट खर्च बेहोरेपछि अबैध रुपमा हुने हुन्डी कारोबार पनि बन्द हुने बताउँछन् ।

बहराइन, कतार, साउदी अबर, यूएई, ओमान, कुवेत र मलेसिया जाने कामदारको आउने जाने हवाई टिकट र भिसा खर्च रोजगारदातले ब्यहोर्नुपर्छ । यो खर्च कामदारको पारिश्रमिकबाट कट्टा गर्न पाइँदैन । सेवा शुल्कबापत कामदारसँग १० हजार रुपैयाँ लिई अनिवार्य रसिद दिनुपर्नेछ ।माग ल्याउन कमिसनस्वरुप खाडीका ६ मुलुक र मलेसियामा वाषिर्क  अर्ब रुपैयाँ हुण्डीमार्फत बहिरिने गरेकेा अनुमान छ ।