भक्तपुर, जेठ ३० । दैनिक सयौं पर्यटकको आगमनले करोडौ आम्दानी गर्दै आएको नगरपालिकाले भक्तपुर भ्रमणका लागि अब सुरक्षित छ भन्ने सन्देश दिदै आगामी सोमबारदेखि भक्तपुरको भ्रमण गर्न पर्यटकलाई आह्वान गरेको हो । भूकम्पले भक्तपुरका ऐतिहासिक सम्पदामा समेत क्षति गरेपछि पर्यटकको आगमन बन्द भएको थियो ।

भूकम्पपछि भक्तपुर आएका नगन्य पर्यटकले भक्तपुरमा निःशुल्क प्रवेश गर्न पाएकोमा सोमबारदेखि भने भक्तपुरको सम्पदा अवलोकन गर्न आउने पर्यटकले पुरानै शुल्क तिर्नुपर्ने भएको छ ।

भूकम्पले पर्यटन शुल्क लिने विभिन्न ठाउँको काउण्टर समेत भत्काएको छ भने नगरक्षेत्र भित्रका ६७ वटा सम्पदा पूर्ण रुपमा क्षति भएको छ । भक्तपुरका ४९ वटा सम्पदामा आंशिक क्षति पुगेको छ ।

पूर्ण रुपमा क्षति भएका भक्तपुर नगरपालिका भवन, फसि देग, रामेश्वर मन्दिर, वतसला मन्दिर, नारायण मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धि गणेश मन्दिर, श्वेतभैरब मन्दिर, सिज महादेव, देगईना मन्दिर, ब्रम्हायणी मन्दिरलगायत रहेका रहेका छन् । पर्यटकका लागि खुल्ला गर्ने भएपछि नगरक्षेत्र भित्र भत्किएका संरचनाको भग्नावशेष हटाउने कार्य समेत सम्पन्न गरेको छ ।