ताप्लेजुङ, जेष्ठ ३० – ताप्लेजुङको पश्चिमी क्षेत्रमा बुधबार राति गएको पहिरोमा परी मृत्यु भएकाहरुको उद्धार गरिनसक्दै गएराति पूर्वको खेवाङ र सुरुमखिम गाउँ विकास समितिमा पनि पहिरो गएको छ ।शुक्रुबार साँझ नौ बजेदेखि दुबै गाविसमा चिराचिरा परेर पहिरो झरेको भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । उनका अनुसार र पशुचौपाय र अलैंची खेती भने बगाएको छ । तेल्लोक र खेवाङबाट प्रहरी टोली परिचालन भइसकेको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न ६ गाविसमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ । अझै २२ जना बेपत्ता छन् ।थिङलावु गाविसमा एकै परिवारका ५ र लिवाङ गाविसमा तीन महिनाको नानीसहित एकै परिवारका तीनजनाको शव शुक्रबार निकालिएको छ । लिवाङको ल्यामल्याममा फसेका १३ जनाको उद्धार गरिएको छ । उनीहरूलाई खोक्लिङ गाविसको सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए । भेटिएकामध्ये २७ जनाको शव आफन्तलाई बुझाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पहिरो क्षेत्रमा रहेर उद्धारको काम जारी राखेको प्रशासनले जनाएको छ ।