काठमाडौं, जेष्ठ ३० । सरकारले बैशाख १२ गते गएको भूकम्पले पुर्‍याएको क्षतिको अध्ययन गरि पुनःनिर्माण लागि ६ खर्ब ६६ चाहिने रकमको आंकलन गरेको छ ।

राष्ट्रिय योजना आयोगको नेतृत्वमा सम्पन्न अध्ययनले क्षति पुगेका र भूकम्पमा पूरै गुमेका संरचनाको निर्माणका लागि ६ खर्ब ६६ अर्ब लाग्ने निष्कर्ष निकालेको छ ।

उक्त निष्कर्षसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  गोविन्द पोख्रेलले प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रवार साँझ बुझाएका थिए ।

योजना आयोगको नेतृत्वमा विश्व बैंक, एशियाली विकास बैंक, जापान, भारत लगायतका विज्ञ संग्लग्न टोलीले करिब तीन साता लगाएर प्रतिवेदन तयार पारेको हो ।

‘विपत्तिपछिको आवश्यकताको आंकलन’ नाम दिएको सो अध्ययनले भूकम्पले असर पुर्‍याएका २३ ओटा विभिन्न क्षेत्रमा क्षतिको अध्ययन गरेको थियो ।

सबैभन्दा धेरै क्षति निजी तथा सरकारी भवनमा पुगेको छ । त्यसपछि पर्यटन, शिक्षा, कृषि र स्वास्थ क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले गर्ने यस्तो आंकलनको विश्वसनीयता दातृ राष्ट्र र निकायलाई पनि होस् भन्ने सोचले सरकारले सो अध्ययनमा विदेशी दातृ निकायका प्रतिनिधिहरुलाई पनि संग्लन गरेको हो ।

तीन सातामा सम्पन्न गरिएको यो अध्ययनको आंकलन पूर्ण भने होइन ।

असार १३ गते काठमाडौंमा गर्न लागिएको दातृ निकायको अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गर्न छोटो समयमा नै गरिएको यो प्रारम्भिक अध्ययन मात्र हो । क्षेत्रगत तहमा पछि विस्तृत अध्ययन गरिने बताइएको छ ।