२९ जेठ,धुलिखेल ।  काभ्रेको उग्रचण्डी नाला–४ मा रहेको उग्रचण्डी नाला भगवतीको मूर्तिको शिलाबाट साढे सात महिनापछि फेरि पसिना आएको छ ।
शुक्रबार काठमाडौँबाट नाला भगवतीमा पूजा गर्न आएका दर्शनार्थीहरुले मध्यान्ह १२ बजे भगवतीको शिलाबाट एक्कासी पसिना आएको देखेका थिए ।
नाला भगवतीलाई पसिना आएपछि स्थानीयबासी त्रसित बनेका छन् । भगवतीलाई पसिना आएपछि मुलुकमा अनिष्ट हुने किंवदन्ती भएकाले स्थानीय त्रसित बनेको मन्दिरका पूजारी कृष्णगोपाल कर्माचार्यले जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट आएका दुई महिला पूजा गर्ने क्रममा कामेपछि शिलामा पसिना आएको हो ।  भगवतीलाई पसिना आएपछि भगवतीको क्षमापुजा गर्न अनुरोध गरिएको कर्माचार्यले बताए ।