मुम्बई : भारतीय कम्पनी नेस्लेले म्यागी चाउचाउ स्वस्थ रहेको दाबी गरेको छ।उसले आफ्नो कम्पनीले विभिन्न तरिकाबाट उक्त चाउचाउको खाद्य पदार्थको परीक्षण गराएको र त्यसमा उक्त चाउचाउ स्वस्थ रहेको पाइएको जनाएको छ।
बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा उसले भारतीय सरकारलाई चुनौती दिएको छ। उसले म्यागी चाउचाउलाई कसैले पनि अखाद्य भनी प्रमाणित गर्न नसक्ने दाबी पनि गरेको छ।
उसले आफू यसै विषयलाई लिएर मुम्बईको उच्च अदालतमा पुगेको र आफूले छिटै यस विषयमा न्याय पाउने बताएको छ।
‘हामी मुम्बईको उच्च अदालतमा गएका छौं र न्यायिक पुनरावलोकनका लागि हामी त्यहाँ गएका हौं’, कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
हालैमात्र भारतको एक प्रख्यात खाद्य पदार्थ म्यागी चाउचाउमा बेचबिखनमा भारतमा प्रतिबन्ध लगाइएको छ।
महाराष्ट्र सरकारको खाद्य सुरक्षा तथा मापदण्ड ऐन २०११ अनुरूप भारतीय सरकारले उक्त चाउचाउमाथि प्रतिबन्ध लगाएको हो।
तर नेस्टले इन्डिया लिमिटेड भने बिहीबार सरकारको प्रतिबन्धका विरुद्ध अदालत गएको छ। उसले उक्त सरकारी निर्णयका विरुद्ध विशेष आदेश माग गरेको छ।
अखाद्य पदार्थ राखिएको भनी लगाइएको प्रतिबन्धपछि उक्त कम्पनीले चाउचाउमा प्रतिबन्ध लगाएको कार्यको विरोध गर्दै आएको छ। -रासस