काठमाडौं जेठ २९ । नागरिक लगानी कोषले ७५ दिन पछि आज अप्पर तामाकोशीको सेयर बाँडफाँट गर्ने भएको छ । दुईलाख भन्दा बढी आवेदन परेको कारण दुई महिना भित्र यो कम्पनीको सेयर बाँडफाँट गरिसक्नु पर्ने थियो । न्युनतम ५० कित्ता सेयर माग्नेलाई माग अनुसार नै र त्यसभन्दा बढी माग्नेलाई समानुपातिक रुपमा बाड्ने योजना काेषको छ । अावेदन दिने सबैलाई सेयर पर्नेछ ।   नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कोषले शुक्रबार अपरान्ह सेयर बाँडफाँट गर्न लागेको हो । एउटै आब्हान पत्रमार्फत ऋण लगानी कर्ता सस्थाका कर्मचारी, आयोजनाका कर्मचारी र स्थानीय वासिन्दालाई सेयर दिन खोजिएको थियो । तर स्थानीयका लागि भने स्थगित भएकोले यसमा थप कानुनी जटिलता आउन नदिन बोर्डले सतर्कता अपनाउँदा सेयर बाँडफाँट गर्न ढिला भएको हो । कोषले जेठ १५ गते भित्र सेयर बाँडफाँट गरिसक्नु पर्ने थियो । तामाकोशीको सेयर आवेदन बन्द भएको जेठ १५ गते दुई महिना पुरा भयो । भूकम्पका कारण असहज अवस्था सिर्जना भएकोले सेयर बाँटफाँटका लागि केही दिन म्याद थप्न कोषले बोर्डसँग आग्रह गरेको थियो ।

तामाकोशीको सेयरका लागि ऋण लगानीकर्ता सस्थाका कर्मचारी, प्राधिकरणका कर्मचारी र सञ्चय कोषका बचतकर्ताले १८ अर्ब ३० करोड ९७ लाख रुपैयाँबराबरको आवेदन दिएका छन् । यो आयोजनाको दुई अर्ब ५५ करोड रुपैयाँको दुई करोड ५५ लाख कित्ता सेयर निष्काशन गरिएको हो । यो आयोजनाको सेयरका लागि दुई लाख १० हजार लगानीकर्ताले आवेदन दिएका छन् ।   बाँडफाँट पछि पाँच कार्यदिन देखि सेयर नपरेको पैसा फिर्ता गर्नुपर्ने प्रावधान छ । शुक्रबार सेयर बाँडफाँट गरेपछि असार तीन गते देखि सेयर नपर्ने लगानी कर्तालाई पैसा फिर्ता गर्नुपर्छ ।