ललितपुर, जेठ २९–आगामी असारमा मलमास परेकाले सो महिनाभर रातो मच्छिन्द्रनाथको रथयात्रा नहुने भएको छ । आगामी असार २ देखि ३१ गतेसम्म मलमास परेकाले उक्त अवधिमा रथयात्रा नहुने गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए । गत वैशाख ६ गते रथारोहणा गरी ९ गतेदेखि रथयात्रा सुरू भएको थियो तर १२ गतेको भूकम्पपछि स्थगन भएको थियो । मलमासमा शुभकार्य गर्दा फल प्राप्ति हुँदैन भन्ने मान्यताअनुसार रथयात्रा स्थगन गरिएको बताइएको छ ।