काठमाडौं जेष्ठ २८ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न नयाँ प्रक्रिया सुरु भएको छ। बोर्डले सीईओ नियुक्त गर्न बुधबार आवेदन मागेपछि नयाँ प्रक्रिया सुरु भएको हो।
साढे तीन वर्षदेखि बोर्डको सीईओ पद रिक्त छ। तत्कालीन सीईओ प्रचण्डमान श्रेष्ठको २०६८ कात्तिक १४ गते पदावधि सकिएपछि बोर्ड प्रमुखविहीन भएको हो।
बोर्ड सञ्चालक समितिले सीईओ नियुक्त गर्न एक साताअघि समितिका सदस्य घनेन्द्र श्रेष्ठको संयोजकत्वमा तीनसदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो। उपसमतिमा बोर्डकै सदस्य राजेन्द्र सापकोटा र पर्यटन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटा सदस्य छन्।
यो समितिले यसअघि प्रारम्भिक चरणबाट छानिएर आएका १२ जनालाई पनि समावेश गराउन सकिने गरी नयाँ आवेदन मागेको हो। सापकोटाका अनुसार करिब चार वर्षको अवधिमा छनोट भएर बसेका १२ जनासँगै बजारमा नयाँ व्यक्ति पनि योग्य भइसकेको हुनाले फेरि आवेदन माग गरिएको हो।
उपसमितिले बोर्डको ऐनले तोकेको योग्यता पुगेका व्यक्तिमध्येबाट तीनजनालाई छनोट गरी बोर्ड सञ्चालक समितिमा सिफारिस गर्नेछ।
बोर्ड एेन २०५३ र नियमावली २०५५ अनुसार आवश्यक प्रक्रिया पूरा गरेर आवेदन माग गरिएको सापकोटाको भनाइ छ। उनका अनुसार बोर्डको नियमले समयमावधि नतोकेका कारण १५ दिने सूचना दिँदा पर्याप्त हुने ठहर गरेर नयाँ आवेदन माग गरिएको हो।
यसअघि लामो समय विवादमा परेको सीईओ छनोटलाई यसपटक भने विवादरहित ढंगबाट एक महिनाभित्रमा नै टुंगो लागने यारी भइरहेको बोर्डले जानकारी दिएको छ। साढे तीन वर्षअगाडि नै छनोट चरण पार गरेर बसेका व्यक्तिले रुचि देखाएमा स्वत: प्रारम्भिक छनोटमा पर्ने जानकारी सापकोटाले दिए।
उपसमिति यसअघि छानिएका १२ जनामध्येबाट सीईओ छनोट गर्न सकारात्मक रहेको भए पनि योग्य, दक्ष, निष्ठावान् र विवादरहित व्यक्ति ल्याउन सार्वजनिक लेखा समितिले दिएको निर्देशनअनुसार पुन: आवेदन गर्नुपरेको उनको भनाइ छ।
 उपसमितिले बोर्डको ऐनले तोकेको योग्यता पुगेका व्यक्तिमध्येबाट तीनजनालाई छनोट गरी बोर्ड सञ्चालक समितिमा सिफारिस गर्नेछ। तीमध्ये एकजना बोर्डको सीईओ हुने उल्लेख छ।
सीईओका लागि आवेदन दिन चाहनेले पर्यटन क्षेत्रमा १० वर्ष काम गरेको, स्नातकोत्तर उत्तीर्ण नेपाली नागरिक भएको र कुनै विवादमा नपरेको योग्यतासहित बोर्डको ऐनले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ।
यसअघि आवेदन दिएर प्रारम्भिक छनोटमा परेका उमेदवारहरूमा दीपकराज जोशी, हरि शर्मा, नारायण प्रधान, हुमबहादुर गुरुङ, लोकबहादुर खत्री, भूमि लामा, रघु बिष्ट, विष्णु जीसी, सुभास निरौला, ज्ञानेश्वर महतो, ज्ञानेन्द्र तुलाधर र शिवशरण थापा रहेका छन्। यीमध्ये निरौला बोर्डको भ्रष्टाचार मुद्दामा तानिएका छन्।