काठमाडौं जेठ २९ । नक्कली कागजपत्र बनाई तालिमका लागि फ्रान्स जान लागेका ३२ जना युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको छ। उनीहरूलाई उप्रेती ग्रुप प्राइभेट लिमिटेडले हवाईसम्बन्धी तालिमका लागि फ्रान्स लैजान लागेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा दर्ता नै नभएको उपे्रती एयरको नाममा नक्कली कागजपत्र बनाई उप्रेती ग्रुप प्राइभेट लिमिटेडले ३२ युवकलाई फ्लाइट ‘डिस्प्याचर ग्राउन्ड ट्रेनिङ कोर्स’ को तालिम लिन जेठ १५ गते फ्रान्स लैजान लागेको थियो। मन्त्रालयमा दर्ता नगरे पनि उप्रेती लिमिटेडले २०७२ वैशाख १० गते कम्पनी रजिस्टार कार्यालयमा उप्रेती एयरको नाममा कम्पनी दर्ता गराई त्यसैका आधारमा नक्कली कागजपत्र बनाएको देखिएको छ। उप्रेती ग्रुपको कार्यालय नयाँ बानेश्वरस्थित शंखमुल मार्गमा छ। कतार हुँदै फ्रान्स लैजान लागिएका उनीहरूलाई विमानस्थल अध्यामगन कार्यालयले कागजपत्र शंकास्पद भन्दै प्रस्थान अनुमति नदिएको हो। अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले कागजपत्र नै शंकास्पद भएकाले उनीहरूलाई प्रस्थान अनुमति प्रदान नगरिएको बताए। उप्रेती ग्रुपले आफ्नो लेटर प्याडमा मे २५ देखी सुरु हुने तालिममा सहभागी हुने भएकाले ३२ जनालाई नै प्रस्थान अनुमति दिन अनुरोध गर्दै विमानस्थल अध्यामगन कार्यालयलाई पत्र लेखेको थियो। ‘उनीहरूले पेस गरेको कागजपत्र शंकास्पद देखियो’, महानिर्देशक न्यौपानेले अन्नपूर्णसँग भने, ‘अध्यामगनले उनीहरूलाई जान नदिने निर्णय गरिसक्यो।’ विमानस्थल अध्यागमन कार्यालयले फिर्ता गरेपछि उप्रेती ग्रुपका प्रबन्धनिर्देशक राजु उप्रेती आफ्ना मान्छेको कागजपत्र सही भएको भन्दै अध्यामगन विभाग पुगेका थिए। महानिर्देशक न्यौपानेले फ्रान्स जान पेस गरेको कागजपत्र शंकास्पद भएकाले प्रस्थान अनुमति दिन नसकिने जानकारी दिएपछि उप्रेती अध्यामगन विभाग गएका छैनन्। उप्रेती प्राइभेट लिमिटेडले उप्रेती एयर र फ्रान्समा रहेको इस्मा एभिएसन एकेडेमीसँग भएको ३२ नेपालीलाई ३५ दिनको फ्लाइट डिस्प्याचरको तालिम गराउने सम्झौतापत्रसमेत पेस गरेको छ। फ्रान्सेली दूतावासबाट ३२ जनाको भिसा लिनका लागि उप्रेती ग्रुपले दुई लाख आठ हजार दुई युरो नेपाल इन्भेस्टमेन्ट बैंकमा जम्मा भएको कागजपत्रसमेत पेस गरेको स्रोतले जनाएको छ। आफ्ना मान्छेको कागजपत्र अध्यागमनको नियन्त्रणमा रहेको भए पनि प्रबन्धनिर्देशक उप्रेती अध्यागमन विभाग नजानुले उनीहरू भारत हुँदै फ्रान्स जाने तयारीमा रहेको हुन सक्ने अध्यामगनका एक उच्च अधिकारीले बताए। अध्यामगनले उनीहरूको कागजपत्रको फोटोकपी मात्र नियन्त्रणमा लिएको छ। विमानस्थल अध्यागमन कार्यालयले कागजपत्र जाँच गर्दा उनीहरूले दाबी गरेबमोजिमको कम्पनीसमेत अनलाइन सिस्टममा नदेखिए पछि फिर्ता गरेको हो। ती युवकले विमानस्थलमा अध्यागमन अधिकृतले सोधपुछ गर्दा यात्राको उद्देश्यबारेमा समेत प्रस्ट पार्न सकेनन्। उनीहरूले यात्राको उद्देश्य स्पष्ट पार्न नसकेको र उप्रेती एयरको कागजपत्रसमेत नक्कली भएको ठहर गर्दै अध्यागमन कार्यालयले यात्रमा रोक लगाएको थियो। मन्त्रालयको हवाई महाशाखाका उपसचिव प्रमोद नेपालले उप्रेती एयरको नाममा कुनै एयरलाइन्स दर्ता नभएको बताए। उप्रेती कम्पनीले फ्लाइट डिस्प्याचरको तालिम लिन सुवर्ण नेपाली, सुवास अधिकारी, क्षेत्रबहादुर घर्ती, शालिकराम पौडेल, कैलाश कुँवर, तलबहादुर कणेल, रामप्रसाद लामिछाने, शालिक राम अमाई, गमबहादुर दमाई, झलकबहादुर रेग्मी, किरण भण्डारी, दयाराम सापकोटा र चन्द्रबहादुर कार्कीलाई फ्रान्स पठाउन लागेको थियो। सोही तालिममा फ्रान्स जान लागेका अर्जुन सापकोटा, षडानन्द अधिकारी, भविन्द्र बस्नेत, रूपेश थपलिया, निराजन उप्रेती, कवीराम सार्की, पुर्णबहादुर खत्री, सरिता पण्डित, दिनेश बुढाथोकी, कमल दुलाल, जगुपति अमाई, श्रवणकुमार दुलाल, कृष्ण पुनमगर, राजकुमार खतिवडा, अर्जुन अर्याल, नारायण सापकोटा, देवबहादुर केसी, सुनिल खरेल र कमलप्रसाद सापकोटालाई पठाउन लागिएको थियो।