कैलाली, जेठ २७ गते । सुदूरपश्चिममा अहिले डेढ दर्जनभन्दा बढी लघु जलविद्युत् परियोजना बन्द छन् । निर्माणपछि पुनःमर्मत सम्भार नगरिँदा विभिन्न जिल्लाका ग्रामीण नदीखोलावाट निकालिएका लघु जलविद्युत् योजनाहरू बन्द हुन पुगेका हुन् ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये तराईमा पर्ने कैलाली र कञ्चनपुर बाहेक अरु सबै जिल्लामा करिब ११८ लघु जलविद्युत् परियोजना बनेका छन् र तीमध्ये छ वटा परियोजना निर्माणाधीन छन् भने करिब १७ लघु जलविद्युत् परियोजना पूर्ण रूपमा बन्द रहेको स्थानीय ऊर्जा तथा वातावरण शाखा डडेल्धुराले जनाएको छ ।

नेपालमा ठूलो लगानीमा विद्युत् निकाल्नुभन्दा पछिल्लो समय स्थानीय स्तरमा बनेका लघु जलविद्युत् परियोजनाले राम्रो फाइदा दिएका छन् । सञ्चालनमा आएका ती परियोजना पनि बन्द भइदिँदा समस्या सिर्जना भइरहेको जिल्ला ऊर्जा तथा वातावरण शाखा डडेल्धुराले बताएको छ ।

उक्त शाखाले दिएको तथ्याङ्क अनुसार अहिले डोटी बाहेक अन्य सबै जिल्लाका केही लघु जलविद्युत् परियोजना बन्द छन् । यसले गर्दा हाल कायम गरिएको लोडसेडिङमा कम हुनसक्ने कुनै आधार नभएको बताइएको छ ।

यस्तै बैतडी जिल्लामा बनिसकेका १८ परियोजनामध्ये पाँच वटा बन्द छन् भने ५१ किलोवाट क्षमताको सुनार्या गाड (चौथो) लघु जलविद्युत् अहिले निर्माणाधीन छ । जिल्लामा रहेका पाँचवटा परियोजना लामो समयदेखि बन्द अवस्थामा रहेका भए पनि अहिलेसम्म कसैले सञ्चालनमा चासो नदेखाउँदा स्थानीय बासिन्दा अन्धाकारमा बस्न बाध्य छन् ।

यस्तै डडेल्धुरामा अहिलेसम्ममा ११ वटा लघु जलविद्युत् परियोजना बनेका छन् । बनेका परियोजनामध्ये १२ किलोवाट क्षमताको सेलाखोला लघु जलविद्युत् परियोजना बन्द अवस्थामा छ ।

डोटीमा भने अहिले जिल्लामा निर्माण सम्पन्न भएका सबै परियोजना सञ्चालनमा रहेका छन् । जिल्लामा रहेका कुल निर्माण सम्पन्न आठ वटा परियोजना सबै सञ्चालनमा छन् भने दुई वटा परियोजना निर्माणाधीन अवस्थामा छन् ।

अछाममा निर्माण सम्पन्न १८ वटा परियोजनामध्ये पाँच वटा बन्द अवस्थामा छन् भने पाँच वटा परियोजना निर्माणाधीन छन् ।

अहिले जिल्लामा १३ वटा परियोजना पूर्ण रूपमा सञ्चालनमा छन् ।

बाजुरामा पनि कुल २७ परियोजनामध्ये तीन वटा परियोजना बन्द छन् ।

यस क्षेत्रमा सबैभन्दा बढी लघु जलविद्युत् परियोजना भएको जिल्ला बझाङ नेपालमै लमजुङपछि दोस्रो स्थानमा पर्दछ । कुल ४४ वटा परियोजना बनेको बझाङमा तीन वटा परियोजना अहिले विविध कारणले बन्द अवस्थामा छन् ।

सुदूरपश्चिम लगायत देशभरका विविध कारणले बन्द भएका यी लघु जलविद्युत् परियोजनाको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याए लोडसेडिङमा केही हदसम्म भए पनि कमी हुने निश्चित छ ।