बेसीशहर, जेठ २७ गते । विद्यालयमा जङ्कफुड अर्थात तयारी सुख्खा खाजामाथि प्रतिवन्ध लगाइए पनि लमजुङका विद्यालयहरूमा भने वितरण भइरहेको छ ।

जिल्लाका सबै विद्यालयमा कडाइका साथ जङ्कफुडमाथि प्रतिवन्ध लगाएको भए पनि जिल्ला शिक्षा कार्यालयले धमाधम वितरण गरेको हो ।

भूकम्प पीडितका लागि आएको जङ्कफुड जिल्ला विकास समितिको सभाहलमा थुप्रिएपछि विद्यार्थीहरूलाई वितरण गरिएको हो ।

जिल्ला दैविप्रकोप उद्धार समितिले राहतमा आएको चाउचाउ, विस्कुट, दालमोठ लगायतका खाद्यसामग्री विद्यालयमा पठाउने निर्णय गरेपछि शिक्षा कार्यालयले वितरण गरेको हो ।

“विपद्का बेला आएको राहत त्यसै सडाउन पनि नमिल्ने, बेच्न पनि नमिल्ने”, जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले भन्नुभयो, “विद्यालयमा पठाउन नहुने प्रावधान हुँदाहुँदै पनि पठाउन बाध्य भयौँ ।”

बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै प्रतिवन्ध लगाएको कार्यालयले नै जङ्कफुड वितरण गर्नुलाई धेरैले अनौठो मानेका छन् ।

“शिक्षा कार्यालय र विद्यालयले नै जङ्कफुड बाँडेपछि हामीले भोलीदेखि कसरी नखाउ भन्ने ?”, एक अभिभावकले प्रश्न गर्नुभयो ।

सरकारले लिएको नीति नियमलाई नै धोती लगाउने यस्तो कार्य नगर्दा राम्रो हुने सरोकारवालाले बताएका छन् ।

जङ्कफुडमा प्रतिवन्ध लगाइएको छ भन्ने विद्यालयका शिक्षकहरू पनि चाउचाउ, बिस्कुट लिन जिविसमा धाएका छन् ।

शिक्षा कार्यालयका अनुसार अहिलेसम्म कुनै पनि विद्यालयले हामी लैजाँदैनौ भन्न नआएको बताएको छ ।