पशुपतिनगर, जेठ २७ गते । चुरे क्षेत्रसँग जोडिएको इलामको चुलाचुलीमा फेरि हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट बुधबार बिहान इलाम चुलाचुली–४ की ३१ वर्षीया धनमाया लावती र चुलाचुली–६ की ४० वर्षीया प्रिती लिम्बूको ज्यान गएको हो ।

बिहान ५ बजेतिर शौच गर्न घरबाट बाहिर निस्कँदा जङ्गली हात्तीले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताउनुभयो ।

चुलाचुलीको जङ्गल क्षेत्रबाट आएको हात्तीको हुलले ती महिलालाई आक्रमण गरी पुनः जङ्गलतिर फर्किएको स्थानीयले बताएका छन् ।

भारतबाट हुल बाँधेर नेपाल भित्रने जङ्गली हात्तीले झापा, इलामका सीमावर्ती गाउँका बासिन्दालाई हैरानी दिँदै आएको छ । हात्तीले अन्नबाली नष्ट गरिदिने, घर भत्काउने र ज्यान समेत लिएर हैरानी पार्न थालेपछि चुरे भारतीय सीमा क्षेत्रका इलाम–झापाका बासिन्दा हात्तीबाट हैरान बन्ने गरेका छन् ।

भारतबाट नेपाल छिर्ने हात्तीबाट झापाका बुधबारे, बाहुनडाँगी, शान्तिनगर, शनिश्चरे, खुदुनाबारी, अर्जुनधारा र इलामका जिर्मले, इरौटार, चुलाचुली, दानाबारी लगायतका गाविस बढी प्रभावित हुने गरेका छन् ।

झापाका सरोकारवालाले हात्ती आतङ्कलाई नियन्त्रण गर्न नेपाल–भारत अधिकारीको समन्वयमा कार्ययोजना बनाउने पहल भइरहेको भए पनि अझै प्रभावकारी हुन सकेको छैन ।

पछिल्लो २५ वर्षमा झापामा ३० जनाभन्दा बढीको हात्तीको आक्रमणबाट ज्यान गइसकेको छ । तीमध्ये १५ जनाभन्दा बढी बाहुनडाँगी गाविसको मात्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लो समयमा हात्ती प्रभावित गाविसका युवाले ट्रयाक्टर प्रयोग गरेर हात्ती धपाउने गरेका छन् । ट्रयाक्टरको चर्को आवाजले हात्ती धपाउन केही सहज हुने भए पनि स्थायी समाधानको उपाय भने यो नहुने झापा घण्टीबारीका मोहन सुन्दास बताउनुहुन्छ ।