काठमाडौं जेठ २७ । वैशाखमा गएको विनाशकारी भूकम्पका कारण विदेशी पर्यटक नआउँदा आन्तरिक वायुसेवाको पर्यटकीय गन्तव्यको उडान प्रभावित भएको छ। आन्तरिक वायुसेवाका माउन्टेन फ्लाइट (पर्वतीय उडान ) शत्प्रतिशत प्रभावित भएको सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिएका छन्।
अन्य पर्यटकीय गन्तव्य पनि प्रभावित भएको छ। लुक्ला, जोमसोम,पोखरासहितका गन्तव्यको उडान सबैभन्दा वढी प्रभावित भएको कम्पनीले जनाएका छन्।
दैनिक दुई तीन वटासम्म माउन्टेन फ्लाइट हुने भए पनि भूकम्पपछि करिब ठप्प नै भएको बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रूपेश जोशीले बताए।
जोशीका अनुसार सेप्टेम्बरसम्मको समय अफ सिजन भए पनि गत वर्ष यो समयमा दुई तीन वटा पर्वतीय उडान हुनेगथ्र्यो। भूकम्पले नेपालमा पर्यटक नै नआएका कारण आन्तरिक वायुसेवाको यो उडान बढी प्रभावित भएको हो। पोखराको उडान पनि हाल चारबाट तीनवटामा सीमित गरिएको छ।
यस क्षेत्रमा सबैभन्दा बढी उडान गर्ने यति तथा तारा एयरको उडान पनि प्रभवित भएको छ। तारा एयरले ट्वीनअटर जहाजमार्फत दैनिक तीनचार वटा उडान गर्ने लुक्लाको उडान करिब ठप्प भएको छ।