काठमाडौँ: प्रधानमन्त्री सुशील कोइरालाले विपद्को यस घडीलाई धैर्य नटुटाई सामना गर्न सर्वसाधारण सबैसँग आग्रह गरेका छन् ।
आज देशवासीका नाममा सम्बोधन गर्दै उनले आज भूकम्पपछि थप विपद्मा परेका जनताको उद्धार तथा राहतमा सरकार लागिरहेको बताए ।  आज दिउँसो १२ः५० बजे फेरि ६।८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रधानमन्त्री कोइरालाले भने – आजको भूकम्पबाट दोलखा र सिन्धुपाल्चोकमा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यसको आधारमा आवश्यक औषधिसहितका चिकित्सकहरु र खोजी तथा उद्धार टोलीहरु हेलिकप्टरबाट त्यसतर्फ गइसकेका छन् ।
काठमाडौँ उपत्यकाका नयाँबजार, बालाजु, महाराजगन्ज, भक्तपुर, ललितपुर तथा मातातीर्थबाट बढी क्षति तथा घाइते भएका जानकारी आएको छ । काठमाडौँ उपत्यका र आसपासका सबै जिल्लामा स्थलमार्गबाट उद्धार टोलीहरु परिचालन भइरहेको छ ।
अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीअनुसार आजको भूकम्पमा परी १६ जनाको मृत्यु भएको र ८४६ जना घाइते भएको जानकारी पनि प्रधानमन्त्री कोइरालाले दिए ।
उनले भने “सरकारले सबै साधन स्रोत र शक्ति प्रयोग गरेर खोजी, उद्धार तथा राहतका कार्यलाई तीव्रता दिनेछ । आज आएको भूकम्प यस पूर्व आएको भूकम्पको पराकम्पन भएकाले विस्तारै हामी यो प्राकृतिक विपत्तिबाट मुक्ति पाउनेछौँ ।

तसर्थ बाटो अवरुद्ध नगर्न, हल्लाको पछाडि नलाग्न, घाइते र बिरामीलाई अस्पतालमा पुर्‍याउने एवम् खोजी तथा उद्धारमा खटिएका सुरक्षा टोलीलाई सघाउन सबैमा हार्दिक अनुरोध गर्दछु ।”

उनले यस विपद्को घडीमा अनात्तिइकन सुरक्षित रुपमा बस्न पनि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइसँग आह्वान गरे । उनले उद्धारमा जुटिरहेका सबै सुरक्षाकर्मीहरुलाई सहयोग पुर्‍याउन पनि आग्रह गरे ।
यसैगरी, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सङ्कटको यस घडीमा संयम अपनाउन आह्वान गरे ।  उनले भूकम्पका खोज, उद्धार तथा राहतका लागि सरकारले उच्च प्राथमिकताका साथ जुटिरहेको पनि जानकारी दिए ।
भूकम्प प्रतिरोधका संरचना नभत्किएको हुँदा चर्किएको घरमा नबस्न र सचेत भई बस्न पनि उनले सबैसँग आग्रह गरे ।  सरकार ठूलो योजनाका साथ भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण जुटिरहेको उनले बताए ।