बैंगलोर, (एजेन्सी)– भारतीय अदालतले तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री जयललिता जयरामलाई भ्रष्टाचार मुद्दामा सोमबार सफाइ दिएको छ ।
पूर्व अभिनेत्री उनीविरुद्ध आयभन्दा बढी अकूत सम्पत्ति जम्मा गरेको आरोपमा मुद्धा चलाइएको थियो । अदालतले उनीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला सुनाउँदै सोमबार सफाइ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानमा अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । गएको सेप्टेम्बर महिनामा अदालतले उनलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको थियो । उनलाई चार वर्ष जेल सजाय सुनाइएको थियो । जेल सजायविरुद्ध उनले पुनरावेदन गरेकी थिइन् ।
जयललिताले आफूलाई राजनीतिक प्रतिशोध लिन आरोप लगाइएको भन्दै आफूले कुनै भ्रष्टाचार नगरेको बताउँदै आएकी छन् । पुनरावेदन सुनुवाइका क्रममा अदालतले उनलाई सोमबार सफाइ दिएको हो । १९ वर्षयता विवादास्पद रहेको जयललिताको भ्रष्टाचार मुद्दामा अदालतले गरेको फैसला निकै अर्थपूर्ण रहेको अनुमान छ ।
प्रहरीले सोमबार उनलाई अदालत लैजाने क्रममा सुरक्षा व्यवस्था निकै कडा पारेको बताएको थियो । उनका हजारौं कार्यकर्ता उनको समर्थनमा जुलुस निकालिरहेका छन् । उनीहरूले जयललिताको पक्षमा नाराबाजी गर्दै उनी निर्दाेष रहेको बताएका थिए । साथै उनीहरूले राजनीतिक आस्थाका कारण उनीमाथि मुद्दा चलाइएको बताउँदै आएका थिए ।
प्रहरी अतिरिक्त कमिस्नर आलोककुमारले जयललितालाई अदालतमा ल्याउँदा कुनै अप्रिय घटना नहोस् भनेर अदालतबाहिर निकै कडा सुरक्षा व्यवस्था गरेको बताए । उनले सयौं प्रहरीले अदालत घेरामा हालेको जानकारी दिए । उनको सुुनुवाइ हुन लागेको बैंगलोर अदालतलगायत चेन्नई सहरका कैयौं ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।
अदालतको फैसलासँगै उनलाई राजनीतिमा फर्कने बाटो खुलेको छ । उनको क्षमा चेन्नईमा सोमबार जुलुस निस्किएका छन् । चेन्नईमा उनका पक्षधरहरूले खुसियाली मनाएका छन् भने भारतका अरू स्थानमा पनि उनको पक्षमा जुलुस निस्किएका छन् ।