काठमाडौं, जेष्ठ १७ ।भूकम्प प्रभावित जिल्लाका विद्यार्थी करिब एक महिनापछि विद्यालय फर्किएका हुन् । सरकारको निर्णयबमोजिम सम्बन्धित जिल्ला शिक्षा कार्यालयले आजदेखि विद्यालय खोल्न निर्देशन दिएको थियो । तर, भूकम्पले पारेको मनोवैज्ञानिक त्रास र लगातारका पराकम्पनका कारण शिक्षक–विद्यार्थी अझै ढुक्क हुन सकिरहेका छैनन् । लामो समयपछि फर्किएका विद्यार्थीलाई केही साता किताबी कुराभन्दा पनि त्रास भुलाउने क्रियाकलापमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ छ । यस्ता क्रियाकलापले विद्यार्थीसँगै शिक्षकको पनि मनोबल बढ्ने उनीहरुको दावी छ । भूकम्पबाट भौतिक संरचना ध्वस्त भएका धेरैजसो विद्यालयमा अझै अस्थायी कक्षाकोठाको व्यवस्था हुन नसक्दा पठनपाठन सुरु भइहाल्ने अवस्था छैन । भौतिक संरचना ध्वस्त भएका सरकारी विद्यालयहरूले अस्थायी कक्षाकोठा बनाउने तयारी गर्दैछन् । निजी विद्यालय ध्वस्त भवनको विकल्पको खोजी तथा मर्मत सम्भारमा जुटेका छन् । कम क्षति भएका विद्यालय आजदेखि सञ्चालनमा आएपनि क्षतिग्रस्त विद्यालयहरु सञ्चालनमा आउन अझै केही समय लाग्नेछ । भूकम्पको त्रास हटाउन सबै शिक्षकलाई मनोसामाजिक परामर्श दिइएको जिल्ला अधिकारीहरूले जनाएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै आएको प्राकृतिक विपत्तिपछि उपत्यकाबाट बाहिरिएका विद्यार्थी र अभिभावक अझै फर्केका छैनन् ।