काठमाडौं, जेठ १५ – उद्धारका क्रममा सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त बनेको अमेरिकी सेनाको हेलिकप्टरमा अझै पाँच यात्रुको डिएनएको नमुनाहरु फेला परेका छन् । घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरुले थप पाँच डिनिएका नमुनाहरु फेला पारेका हुन् ।

शुरुमा ६ जना अमेरिकी मरिन सेना र दुई नेपाली सेनामात्र दुर्घटना परेको बताएपनि पछि दोलखाको सिंगटीबाट अमेरिकी हेलिकप्टरमा चढाइएका ५ जना सर्वसाधरण पनि बेपत्ता भएको समाचार आएको थियो । वैशाख २९ गतेको भूकम्पपछि उद्धारका लागि दोलखा गएको सेनाको युएच–१ वाई हुवे हेलिकप्टर दिउँसो साढे दुई बजे सुनखानी इलाकाबाट सम्पर्कविहीन भएको थियो । पछि जेठ १ गते मात्र उक्त हेलिकप्टर सिन्धुपाल्चोक र दोलखाको सीमामा पर्ने कालिन्चोक डाँडामा ११ हजार २ सय फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सिंगटीबाट करिब २ बजे अमेरिकी सेनाको हेलिकप्टरमा चढाइएका भनिएका सर्वसाधारण आजसम्म बेपत्ता रहेका छन् । नयाँ डिनएन नमुना फेलापरेपछि ती हराइरहेका सर्वसाधरणकै हुन सक्ने आशंका गरिएको छ । ‘६ अमेरिकी मरिन र दुई नेपाली सेनाको डिएनए बाहेक पनि थप ५ पाँच जनाको डिएनको नमुना फेला परेको छ ।

डिएनएको नमुना कसको हो भन्ने यकिन भने हुन सकेको छैन,’ अमेरिकी मरिनका लेफ्टिनेन्ट कर्नेल रब जेम्सले एक वक्तव्य जारी गर्दै रोयटर्सलाई बताएका छन् । नेपाली सेनाका अनुसार नयाँ नमुनाहरु सेनाहरुको शव फेला परेको १० दिनपछि फेला परेको हो । हेलिकप्टरबाट बेपत्ता भएकाको खोजी गर्न डिएनए परिक्षणका लागि बिहिबार अमेरिकी र नेपाली सेनाका चिकित्सकहरुले बिहिबारै परिवारजनको र्यालको नमुना संकलन गरिसकेको बताइएको छ । नेपाली सेना र अमेरिकी सेनाको मेडिकल र फोरेन्सिक विज्ञहरुले डिएन परिक्षण गरिरहेका छन् । सेनाका प्रवक्ता बिग्रडियर जनरल जगदिस चन्द्र पोखरेलका अनुसार परिवारजनबाट संकलन गरिएको नमुनालाई नयाँ डिएनएसँगै अमेरिका पठाइने छ । अमेरिकी सेनाले नयाँ डिएनए हराइरहेका सर्वसाधारणको हो या होइन भन्नेबारेमा कुनै प्रतिक्रिया दिन चाहेको छैन ।