काठमाडौं, १४ जेठ । ललितपुरस्थित अल्का अस्पतालले विनाशकारी भूकम्पबाट घाइते भएकाहरूको उपचार गर्दा लागेको खर्च सरकारबाट नलिने निर्णय गरेको छ ।

राष्ट्रिय विपत्तिमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारले दिने भनिएको रकम नलिएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले बताए । अस्पतालले भूकम्पपछि अस्पतालमा आएका ४ सय ५१ जनाको निःशुल्क उपचार गरेको थियो ।

विरामीको उपचारमा अस्पतालले २० लाख ३६ हजार ४ सय ६४ रुपियाँ व्यहोरेको अध्यक्ष थापाले बताए । अस्पतालले अन्तरङ्ग, बहिरङ्ग, मुख्य शल्यक्रिया, सामान्य शल्यक्रिया, चिकित्सक शुल्कलगायत गरी १२ लाख ३६ हजार ४ सय ६४ रुपियाँ र औषधिको ८ लाख खर्च गरेको अध्यक्ष थापाले बताए ।

सरकारले निजी अस्पतालहरूमा भूकम्पबाट घाइते भएकाहरूको मध्ये मुख्य शल्यक्रिया गर्दा लागेको खर्चप्रति बिरामी २५ हजार रुपियाँ दिने निर्णय गरेको थियो ।

घाइतेमध्ये २३ जनाको मुख्य शल्यक्रिया गरिएको थियो । ८ जनाको पुनः शल्यक्रिया गर्नुपरेको थापाले बताए ।