भक्तपुर,  जेठ १३ – भूकम्पका कारण बन्द भएका नगरकोटका होटलहरु पुनःसंचालनमा आउन  थालेका छन् । हरेक वर्ष वैशाख जेठमा पर्यटकले खचाखच हुने यहाँका होटलहरु भूकम्पसँगै पर्यटकको आगमन शून्य भएपछि होटलहरु बन्द भएका थिए ।

नगरकोटका क्षति नपुगेका होटल जेठ १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको र केही क्षति भएका कन्ट्री भिल्ला लगायतका तीनतारे होटलहरु समेत सञ्चालनमा आएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले बताउनुभयो ।

भूकम्पका कारण तीनहप्ता भन्दा बढी समय बन्द यहाँका होटलहरु संचालनमा आएका हुन् । केही क्षति पुगेका होटलहरु मर्मत पछि संचालनमा आएका छन् भने भूकम्पले क्षति नपुर्याएका होटलहरु पनि संचालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

होटल संचालनमा आएसँगै पर्यटकको आगमन समेत बढेको छ । नगरकोटमा अहिले विदेशी पर्यटकको चाप बढेको र आन्तरिक पर्यटकको संख्या पनि बढेको उहाँले बताउनुभयो ।