काठमाडाैं,जेठ १३ -अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।                                                                                                                                                                                            मंगलबार रफत सञ्चार क्लब भक्तपुरमा गरेको अन्तरक्रियाकार्यक्रममा बोल्दै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि नागरिकसम्मले अब निकै सहज हुनु पर्ने बताउनुभयो ।  अबको एक हप्तापछि नेपालमा मनसुन सुरु हुने बताउँदै उहाँले भूकम्पले पहाडका धेरै स्थानहरुको जमिन धुजाधुजा पारेकाले  पहिरो जान सक्ने भएकाले निकै सजग अपनाउनु पर्ने बताउनु भएको हो । शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनको मुनीको पानी तथा वर्षातको पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताउनुभयो ।  नेपालका हिमताल फुट्न सक्ने खतराभएको चर्चा गर्दै उहाँले सरकार अहिलेदेखि नै सजक भएर जोखिम न्यूनिकरणका लागि पहल सुरु गर्नुपर्ने उहाँले जोड दिनुभयो ।  मौसमविद एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा. मदन सिग्देल र मौसमविद सुदिप कायस्थले अहिले पूर्व मनसुन सुरु भैसकेकाले मौसम प्रतिकुल बन्न थालिसकेको बताउँदै आमनागरिक सजक हुनुपर्नेमा जोड दिनुभयो ।भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ र गोरखा उच्च जोखिममा रहेकाले सजगता अपनाउनु पर्ने मौसमविदले बताएका छन् ।