काठमाडौं, जेठ १२ –ताजिकिस्तानमा जारी एफसी यु–१४ क्षेत्रीय च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारा सहित विनाशकारी भुकम्पमा परी ज्यान गुमाएका प्रति समर्पित नेपाली युथले समुह चरणको दोस्रो तथा अन्तिम खेलमा अफगानिस्तानलाई २–० को जित निकालेको हो ।

समुह चरणको अन्तिम खेलमा दशहान्वे शहरको इष्टिकोल स्टेडियममा सोमबार राति भएको खेलमा नेपाललाई विजयी गराउन रेजिन सुब्बाले दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलपनि नेपालले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । खेलको ४७ औं मिनेटमा पहिलो गोल गरेका रेजिन सुब्बाले ५४ औं मिनेटमा अर्काे गोल गर्दै नेपाललई २–० को अग्रताम दिलाए ।
समुह ‘बी’ को विजेता बनेको नेपालले अब समुह ‘ए’ को उपविजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।