काठमाडौं, जेठ ९– शनिबार साँझ  काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अकास्मात ठूलो हुरीसहितको वर्षा भएको छ ।

हुरीले विनाशकारी भुकम्पपछि पीडितहरुले बनाएको धरै अस्थायी टहरा उडाएर लगेको छ ।  हुरीले उपत्यकासहित नुवाकोट, धादिङ, गोर्खा, काभ्रे, दोलखा सिन्धुपाल्चोकमा पीडितले बनाएको अधिकांश अस्थायी टहरा र पाल उडाएर लगेको हो   । भुकम्पपछि बल्ल बल्ल बनाएको अस्थायी टहरा समेत उडाएर लगेपछि पीडितहरु झन् पीडित बन्न पुगेका छन् । ‘भुकम्पपछि बल्लबल्ल बस्नको लागि जस्ताको टहरा बनाएको थियौं त्यही पनि आजको ठूलो हुरीले उठाइदियो’, नुवाकोट रातमाटेका दीपक राईले टेलिफोनमा भने, ‘ त्यही पीडामाथि थप पीडा थपिएको छ ।’ उनले कतिपय पीडितहरु अहिलेपनि पाल टागेर बसेको जानकारी दिँदै त्यो पनि उडाइदिएपछि बिचल्लीमा परेको बताए । यसैबीच राजधानीका विभिन्न स्थानमा बसेका भुकम्प पीडित एकाएक ठूलो हरीसँगै पानी परेपछि थप त्रसित र बिच्चलीमा बसेका छन् । उनीहरु बस्दै आएको त्रिपाल समेत हुरीले उठाइदिएको छ । हावाहुरीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसमेत एक घण्टा अवरुद्ध हुन पुगेको छ भने स्वयम्भूमा हुरीले ढालेको रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । रुखले किच्दा बुढानीलकण्ठकी लक्ष्मीकुमारी सुवेदी दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।