काठमाडौं, जेठ ९ – वैशाख १२ गते विनाशकारी भूकम्प जानुभन्दा ठीक एक घन्टाअघि पाटन अस्पतालको प्रसूति वार्डमा मुना तामाङले साढे तीन किलोको शिशुलाई जन्म दिइन् ।
रातो गुराँसझै सुन्दर ती बालकले च्याँच्याँपछि जसै आँखा उघारे, नर्सहरु सबै खुसीले हाँसेका थिए रे । ‘आहा कति सुन्दर बच्चा भन्दै जिस्क्याउन थाले,’ मुना सुनाउँछिन्,‘त्यति बेला खुसी र लाज दुवै लागेको थियो ।’
अस्पतालकी स्त्रीरोग विशेषज्ञले वैशाख ११ गते प्रसूति मिति तोकिदिएकी थिइन् । त्यही भएर मुना श्रीमान् छिरिङका साथ ९ गते नै सिन्धुपाल्चोक, फुर्पिङबाट काठमाडौं आइपुगेकी थिइन् । वैशाख १० गते बेलुकीदेखि लागेको व्यथा खेप्दै उनले १२ गते दिउँसो ११ बजे छोरालाई जन्म दिइन् ।
एउटी महिलाका लागि आमा बन्नजस्तो ठूलो खुसी के होला र ?
मुनाका लागि त्यस दिन जीवनकै भव्य खुसी लिएर आएको थियो । कहिलेकाहीँ उज्यालो घाम लागिरहेका बेला पानी पर्यो भने इन्द्रेणी लाग्छ । खुसी र हर्षको आँसुले मुनाको जीवन पनि ठ्याक्कै इन्द्रेणीझैं सुन्दर बनेको थियो । तर, एक घन्टा बित्न नपाउँदै जीवनको भयंकर संकट र दुःखले अत्यायो उनलाई ।
मान्छेहरु भागाभाग गर्न थालेका थिए,कुरुवा र बिरामी मात्रै होइन, नर्स र डाक्टरहरु पनि चिच्याइरहेका थिए ।
श्रीमान्ले एक हातले उनलाई र अर्को हातले बच्चा बोकेर हत्त न पत्त तल झारे । ‘कति साहस पलाएको उसमा भनेर मैले एकपटक छिरिङलाई हेरेँ’,मुनाले भनिन्,‘हामी कसरी एकैचोटि तल आयौं भन्ने थाहै छैन ।’यी दम्पतीले बच्चासँगै दिनभर अस्पतालबाहिरै बिताए । बेलुकीदेखि मुखमा पानीबाहेक केही हालेकी थिइनन्, मुनाले ।
सिन्धुपाल्चोकमा घर समेत गुमाएकी उनले छोराको न्वारान पनि पालभित्रै गरेकी छन् ।