भूकम्पबाट क्षतिग्रस्त भएका घरधनिहरुले बैंकहरुबाट ऋण लिदा बढीमा १० वर्षसम्मका लागि २ प्रतिशत व्याजदरमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यस्तो मस्यौदा तयार पारेको हो । राष्ट्र बैंकले उपलब्ध गराउन लागेको पुर्नकर्जामा सरोकारवालहरुबाट प्रतिक्रिया लिने उद्देश्यसहित बैंकले सो मस्यौदा सार्वजनिक गरेको हो  ।
यो मस्यौदामा सरोकारवालाहरुको बिभिन्न प्रतिक्रिया पछि केहि फेरबदल समेत हुन सक्ने नेपाल राष्ट्र बैंकका  प्रवक्ता मीन बहादुर श्रेष्ठले जानकारी दिए । उनले भने “पुर्नकर्जामा सरोकारवालहरुको सुझाव बटुल्ने हेतुले हामीले यो मस्यौदा बाहिर ल्याएका हाै यो अन्तिम भने होइन ।”
बैंकले सार्वजनिक गरेको यो मस्यौदामा भुकम्प पीडितले बढीमा १० वर्ष सम्मकोलागि कर्जा लिन पाइने उल्लेख गरेको छ । पाँच वर्षको लागि लिएको कर्जा पाँच वर्ष मै चुक्ता गर्नु पर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।
मस्यौदामा काठमाडौं उपत्यका भित्रका घरपरिवारलाई २५ लाख र उपत्यका वाहिरका लागि १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भनिएको छ । न्युनतम पाँच वर्ष र अधिकतम १० बर्षसम्मका लागि लिन पाइने यस्तो कर्जा तोकिएको अवधिभन्दा अगावै भुक्तानी गरेमा कुनै पनि अग्रिम शुल्क लाग्दैन । दुई प्रतिशतमा उपलब्ध हुने कर्जा प्राप्त गर्नको लागि भने ऋणीको घर पूर्ण रुपमा भत्किएको हुनुपर्ने र बस्न नमिल्ने गरी चर्किएको हुनुपर्ने बैंकले जनाएको छ ।
ऋण लिनका लागि भने नगरपालिका, वडा वा गाविसको  भूकम्प पीडित भई घर क्षतिग्रस्त भएको र ऋणीको परिवारको  समेत अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा ल्याउनु पर्ने छ । त्यस्तै राष्ट्र बैंकले अन्य बैंकलाई त्यस्तो पुर्नकर्जा शुन्य ब्याजदरमा उपलब्ध गराउने तयारी गरेको छ ।