काठमाडौं : गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका जनताका लागि नेपाल टेलिकमले कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि २५ करोड उपलब्ध गराएको छ।

आइतबार एक कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त चेक हस्तान्तरण गरे।

यस्तैगरी कम्पनीमा कार्यरत कर्मचारीको तलबबाट कट्टी गरिएको दुई करोड ७५ हजार चार सय ७५ रुपैयाँ पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको छ।

सो रकमबराबरको चेक नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे। सोही अवसरमा सञ्चालक समितिका पदाधिकारीको तीनवटा बैठक भत्ताबराबरको ८१ हजार ६ सय रुपैयाँको चेकसमेत प्रधानमन्त्रीलाई हस्तान्तरण गरियो।

विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण गर्न सरकारको निर्देशन एवं योजनाको परिधिभित्र रही आगामी तीन वर्षभित्रमा नेपाल टेलिकमले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका संरचनामध्ये प्राथमिकताको आधारमा काठमाडौंको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौंको स्वयम्भूनाथ, ललितपुर र भक्तपुरको दरबार स्क्वायर र भूकम्पबाट अति प्रभावित क्षेत्रका सामुदायिक विद्यालयको पुनर्निर्माण कार्यका लागि एक अर्ब खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।