एजेन्सी कराँची, ६ जेठ- कडा सुरक्षाबीच जिम्बावेको सिनियर क्रिकेट टोली पाकिस्तान आइपुगेको छ । जिम्बावे टोली मंगलबार पाकिस्तानको लाहोर पुगेको हो । जिम्बावे क्रिकेट सिरिजका लागि पछिल्लो ६ वर्षयता पाकिस्तानमा उत्रने पहिलो टेस्ट खेल्ने राष्ट्र बनेको छ । पाकिस्तानको लाहोरमा सन् २००९ मा श्रीलंकाली क्रिकेट टोलीबीच आतंककारी हमला भएपछि कुनै पनि टेस्ट खेल्ने टोली पाकिस्तान गएको थिएन । त्यसयताका अवधिमा धेरै दुईपक्षीय सिरिज तय भए पनि सबै रद्द भएका थिए । जिम्बावेले पनि पछिल्लो समय सुरक्षाकै कारण देखाउँदै भ्रमण रद्द गर्ने घोषणा गरे पनि अन्तत: आफ्नो टोलीलाई पठाएको छ  । जिम्बावेका खेलाडीलाई लाहोरस्थित विमानस्थलबाट होटलसम्म पुर्‍याउन बाक्लै सुरक्षाकर्मी तैनाथ गरिएको थियो । लाहोरमा श्रीलंकाली टोलीविरुद्ध भएको आक्रमणमा खेलाडीलाई सामान्य चोट मात्रै लागे पनि ६ प्रहरी जवानको मृत्यु भएको थियो । जिम्बावेले शुक्रबारबाट सुरु हुने सिरिजअन्तर्गत पाकिस्तानविरुद्ध दुई टी–२० म्याच खेल्नेछ, भने तीन एक दिवसीय खेल खेल्नेछ । यी दुईबीच क्रिकेट सिरिज हुने पक्का भए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का कुनै पनि प्रतिनिधि त्यहाँ हुने छैनन् । आइसिसीले सुरक्षाको कारण देखाउँदै म्याच अफिसियस नपठाउने भएको छ ।