६ जेठ, भैरहवा । नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत रुपन्देही जिल्लाका सीमा स्तम्भहरुको सर्भे र मर्मत गर्ने काम सुरु भएको छ । सीमा स्तम्भ मर्मतका लागि भारतका तर्फबाट सर्वेयर अनिल जोयल र नेपालका तर्फबाट सर्वेयर संजिव कुमार रावतको टोली खटिएको छ । सो टोलीमा नेपालको सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी समेत छन् ।

गत माघ २६ गते नेपाल र भारतका फिल्ड सर्भे टोलीको संयु्क्त बैठकले सीमा स्तम्भ मर्मत र अद्यावधिक गर्ने निर्णय गरेको थियो । सीमा सम्बन्धी फिल्ड कार्य संचालनको लागि गठित नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला तथा भारतीय जिल्लाका अधिकारीहरुको बैठक बसेको थियो ।

रुपन्देहीको सीमानामा ३६ सीमास्तम्भ पर्दछन् । तिमध्ये २९ स्तम्भ निरीक्षण भइसकेका छन् । बाँकी ७ वटा सीमा स्तम्भ भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएको हुँदा सर्भे गर्न बाँकी रहेको जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सीमा जोडिएका ३६ स्तम्भमध्ये २९ वटा भारतको महाराजगञ्जसँग र ७ वटा सिद्धार्थनगर जिल्लासँग जोडिएका छन् ।

‘नेपाल-भारतका सुरक्षाकर्मीको रोहवरमा हालसम्म ४ सीमा स्तम्भहरुको मर्मत भइसकेका छन्,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले भने, ‘अन्य स्तम्भहरुको पनि मर्मत तथा रंगरोगनको कामहरु भइरहेको छ ।’