काठमाडौं, ५ जेठ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुङ्मतीमा रातो मच्छिन्द्रनाथको भोटो राखिएको सेफ सोमबार फेला पारेको छ । १२ वैशाखको शक्तिशाली भूकम्पबाट भोटो हराएको थियो । सोमबारै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यको उपस्थितिमा भोटो गुठी संस्थानलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ । सेनाको आर्टिलरी निर्देशनालयका निर्देशक सहायक रथी गंगाबहादुर गुरुङ, भग्नावशेष व्यवस्थापन संयुक्त कार्यदल (अल्फा)का सहायक रथी देवकुमार सुवेदी, सहायक रथी उद्धव विष्ट तथा राजदल गणका गणपति, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक एवं रातो मच्छिन्द्रनाथ गुठी संस्थानका कर्मचारीहरूको रोहवरमा सेफ हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।