भूकम्प पीडितको उद्धार र प्रभावित क्षेत्रमा राहत पुर्याउने कामको नेतृत्व गरिरहेको गृह मन्त्रालयले ती काम गर्न हेलिकोप्टरको अभाव महसुस भएको जनाउदै भविष्यका निम्ति कम्तिमा ५ वटा विकाश क्षेत्रमा एक-एक वटा हेलिकोप्टर तैनाथ गर्ने व्यवस्था गर्नु पर्ने बताएको छ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बीबीसीसँग कुरा गर्दै नेपाल र सशस्त्र प्रहरीलाई पनि हेलिकोप्टर किनिदिनु पर्ने खाँचो औंल्याए।

नेपाल जस्तो भौगोलिक विकटता र बसोबास रहेको मुलुकमा प्राकृतिक बिपत्तिका बेला उद्धार र राहतका निम्ति हेलिकोप्टर निकै प्रभाबकारी हुने गरेको अनुभब अधिकारीहरुको छ।

गत वैशाख ११को भूकम्पको सामना जेनतेन गरेको गृह मन्त्रालय गत साताको भूकम्पका पीडितको उद्धारका निम्ति अझै संघर्षरत छ।

भूकम्पबाट अति प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले लगातार गृह मन्त्रालयसँग हेलिकोप्टरको माग गर्ने गरेको पाइन्छ, तर गृहलाई भनेको समयमा हेलिकोप्टर पठाउन सकस परिरहेको देखिन्छ।

‘सहज राहत’

सो मन्त्रालयमा उद्धार एवं राहतको नेतृत्व गरिरहेका सहसचिव एवं प्रवक्ता लक्ष्मी ढकालले कम्तीमा पनि पाँच वटा विकास क्षेत्रहरुमा एक-एक वटा हेलिकोप्टर तैनाथ राख्न सके विपदको बेला राहत पुर्याउन सहज हुनसक्ने बताए।

उनले भने, “एम-आइ-१७ जस्ता ठूला हेलिकोप्टरहरु भएमा हामीलाई विपदको बेला राहत पुर्याउन सहज हन्छ, तर त्यो नभइरहेको हुँदा हेलिकोप्टरको कमी महसुस गरि राखिएको छ।”

गत साता अचानक हराएर दुर्घटनामा परेको अमेरिकी सेनाको हेलिकोप्टरको खोजी कार्यमा नेपाली सेनाका केहि हेलिकोप्टर केन्द्रित हुनु पर्दा गृह मन्त्रालयलाई थप अभाव खड्किएको बुझिन्छ।

जबकी सरकारी हेलिकोप्टर नेपाली सेनासँग मात्र छ र निजि हेलिकोप्टर भाडामा लिने प्रक्रिया लामो छ।

त्यसैले अन्य दुई सुरक्षा निकायलाई पनि हेलिकोप्टरको खाँचो रहेको सहसचिव लक्ष्मी ढकालको भनाइ छ।

स्रोत ः बिबिसि नेपाली