काठमाडौँ, जेठ ४ – उपभोक्ताले अवदेखि प्रतिअन्डाको मूल्य रु आठ मात्रै तिरे पुग्ने भएको छ । भूकम्पबाट प्रभावितलाई प्रोटिनयुक्त खाद्य तत्वको अभाव भएको भन्दै नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको हो । यसअघि उपभोक्ताले प्रतिअन्डाको मूल्य रु १३ को हाराहारीमा तिर्ने गरेका थिए । विपद्का वखत उपभोक्तालाई सहयोगस्वरुप अन्डाको मूल्य घटाइएको सङ्घले आज सूचना जारी गरेर स्पष्ट पारेको छ । आजदेखि केही दिनका लागि उपभोक्ता मूल्य घटाएर रु आठ मात्रै निर्धारण गरिएको सङ्घले जनाएको छ । प्रतिअन्डा रु आठमा उपलब्ध गराएर सहयोग गर्न पनि सङ्घले सबै अन्डा व्यवसायीलार्ई आग्रह गरेको छ ।