काठमाडौं, ४ जेठ विनाशकारी भूकम्पबाट क्षति पुगेका अग्ला घर भत्काउन विदेशी प्राविधिक टोली मगाउने गृहकार्य भएको छ । उपत्यकालगायत विभिन्न जिल्लामा क्षतिग्रस्त भएका तीन तलाभन्दा अग्ला घर व्यवस्थित रूपमा हटाउन टोली मगाउन लागिएको हो । गृह मन्त्रालयमा गृहसचिव सूर्य सिलवालको संयोजकत्वमा आइतबार बसेको विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारीसहितको बैठकले तीन तलाभन्दा माथिका भवन भत्काउन प्राविधिक टोली र केमिकललगायतका सामग्री विभिन्न देशबाट मगाउने निर्णय गरेको हो । यसको समन्वय गर्न परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई जिम्मा दिइएको छ । परराष्ट्रले पनि यसबारे गृहकार्य थालिसकेको छ । बैठकले छिटोभन्दा छिटो अग्ला घर भत्काउन आवश्यक पर्ने जनशक्ति र विभिन्न सामग्री विभिन्न देशसँग माग गर्ने र त्यसको परराष्ट्रले समन्वय गर्ने निर्णय भएको गृह मन्त्रालयका आन्तरिक व्यवस्था महाशाखा प्रमुख सहसचिव विनोद केसीले जानकारी दिए । ‘अग्ला घर भत्काउन विशेष प्रकारको रसायन (केमिकल), कन्ट्रोल डिमुलेसन र दक्ष जनशक्ति आवश्यक पर्छ,’ केसीले भने, ‘हामीसँग यी तीनवटैको अभाव भएकाले अग्ला घर भत्काउन समस्या भएको छ ।’ केसीका अनुसार दक्ष जनशक्ति अमेरिका, जापान, चीन, इजरायललगायतका देशबाट मगाउन बैठकले परराष्ट्रलाई आग्रह गरेको छ । भूकम्पबाट क्षति भएका अग्ला घर भत्काउने विषयमा गृहसचिवको संयोजकत्वमा आयोजित बैठकमा रक्षासचिव ईश्वरीप्रसाद पौड्याल, सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्की, परराष्ट्र सचिव बैरागी तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारी सहभागी थिए । गृह मन्त्रालयका अनुसार काठमाडौंमा तीनदेखि सात तलासम्मका घरमा भूकम्पले बस्न नहुने गरी क्षति गराएको छ ।