महानगरीय प्रहरी अपराध महाशाखाले तथ्यहीन, भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा पोष्ट, सेयर तथा लाइक नगर्न इन्टरनेट प्रयोगकर्तालाई आग्रह गरेको छ ।

महाशाखाले मुलुक भूकम्पका कारण समस्यामा परेको र पटक–पटक पराकम्पन गइरहेको सन्दर्भमा अनावश्यक हल्ला तथा तथ्यहीन समाचारले जनजीवन थप आतङ्कित भएको भन्दै सो आग्रह गरेको हो ।

गलत समाचार कहीँकतै आएमा त्यस्ता समाचार पोष्ट नगर्न तथा लाइक र सेयर नगर्न र नगराउन समेत महाशाखाले एक विज्ञप्ति मार्फत आग्रह गरेको हो । महाशाखाले गलत सन्देश प्रवाह गर्ने जो कोहीलाई नियमअनुसार कारबाही गर्ने जनाएको छ ।