बोस्टन म्याराथनमा बम विस्फोट गराउने एक युवकलाई संघीय अदालतले शुक्रबार मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले दुई वर्षअघिको म्याराथनमा बम आक्रमणमा दोषी ठहर २१ वर्षे जोखार सारनाएवलाई मृत्युदण्ड दिने अन्तिम निर्णय सुनाएको हो।
सन् २०१३ को अप्रिल १५ मा बोस्टन म्याराथनका क्रममा सारनाएवले आफ्ना दाजुसँग मिलेर प्रेसर कुकर बम विस्फोट गराएका थिए। सो क्रममा ८ वर्षीय एक बालकसहित तीनजना मारिएका थिए। अन्य २ सय ६० जना घाइते भएका थिए।
फैसलाअनुसार उनलाई घातक इन्जेक्सनद्धारा मृत्युदण्ड दिइने छ । तर यसको समय भने अहिले तोकिएको छैन । उक्त बम हमलायता सर्वाधिक चासोको केन्द्रमा रहेको यो विषयमा अदालतबाट भएको निर्णयलाई न्यायपक्षधर र स्थानीय समुदायले बोस्टनको बलियो आत्मा भनी संज्ञा दिएका छन् ।
१२ न्यायाधीस सहभागी पूर्ण इजलासले एकमतका साथ यो अन्तिम फैसलामा सुनाउँदा बम हमलाका दोषी सारनाएव र उनका आफन्त अदालतमा उपस्थित थिए । बम आक्रमणमा संलग्न उनका दाजु भने प्रहरीद्धारा खोजीका क्रममा भोलिपल्टै मारिएका थिए ।
घटनापछि फरार सारनायवलाई पक्राउ गर्न प्रहरीले पुरै बोस्टन सहरलाई शिलबन्दी गरी अधिकाँश घर खानतलासी लिएको थियो । शहर शिलबन्दीका क्रममा कोही कसैलाई घर बाहिर निस्कन रोक लगाइएको थियो । यसलाई अमेरिकी इतिहासमै ठूलो ‘सर्च अप्रेसन भनिएको थियो ।
तीन दिनसम्म १४ घण्टा लामो सुनुवाईपछि दोषीलाई मृत्युदण्ड दिने निर्णयमा अदालत पुगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘न्यायको पक्षमा आज न्यायपीठ बोलेको छ’ अदालतको निर्णयपछि अधिवक्ता कार्मेन ओर्टिजले भने,‘आफ्नो अपराधका लागि सारनाएवले जीवन गुमाएका छन् ।’
मृत्युदण्डको निर्णय सुनाउँदा अदालत परिसरमा सारनाएव टाउको झुकाएर उभिएका थिए । अदालतको निर्णयलगत्तै रुसमा रहेका उनका बाबुलाई फोनमार्फ्त यसको जानकारी गराइएको छ । उनका बाबु एनजोर सारनाएवले छोरालाई मृत्युदण्ड दिने निर्णय दुर्भाग्यपूर्ण भन्दै फोन राखिदिएका थिए ।
सिएनएनका अनुसार अदालत कक्षबाट बाहिरिने क्रममा दोषी पक्षका वकिलले भने यस निर्णयप्रति कुनै प्रतिक्रिया दिन चाहेनन् ।
प्रहरीको लामो अनुसन्धान र पटक–पटकको अदालती सुनुवाईपछि गत महिना (अप्रिल ८) उनलाई ३० आरोपहरुमा दोषी ठहर गरिएको थियो । तीमध्ये १७ वटा आरोप दोषीमाथि मृत्युदण्ड हुन सक्ने बुँदा समावेश थिए ।
कतिपयले अमेरिकी सभ्यता र मानवअधिकार सहितको प्रजातन्त्रका लागि मृत्युदण्ड अस्वीकार्य रहेको भन्दै आवाज उठाएका थिए । धेरैजसोले भने यसलाई अक्षम्य अपराधका रुपमा चित्रण गर्दै मृत्युदण्ड मात्रै उचित सजाय हुने राय दिएका थिए ।