भूकम्पपीपडितलाई उद्धार तथा राहत वितरण गर्न दोलखा जाने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता अमेरिकी यूएच वान हुएई हेलिकोप्टर शुक्रबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
गत मंगलबार दिउँसो २:३० देखि सम्पर्कविहीन भएको उक्त हेलिकोप्टर दोलखासँग सिमाना जोडिएको ११ हजार दुई सय उचाइमा कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशामा सिन्धुपाल्चोकको घोर्थली गाविसमा फेला परेको हो।
हेलिकोप्टर पूर्ण रूपमा क्षति भएको छ भने पाँचजनाको शव फेला परेको छ। त्यसमा रहेका ६ अमेरिकी र दुई नेपाली सैनिक अधिकारीमध्ये कसैको पनि बाँच्ने सभावना नरहेको सैनिक स्रोतले बताएको छ।
दुर्घटनाग्रस्त क्षेत्र कालिञ्चोक भगवती मन्दिरबाट एक घन्टाको पैदल दूरीमा रहेको दोलखास्थित बर्दबहादुर गणका गणपति विश्वासविक्रम शाहले जानकारी दिए।
उनले आफूहरू मौसमका कारण त्यसतर्फ जान नसकेको उल्लेख गर्दै राजधानीबाट सेनाको विशेष टोली दुर्घटनास्थल पुगेको बताए।