काठमाडौं, ३० वैशाख मंगलबार आएको भूकम्पका कारण ३ वटा जिल्लाको फोन सेवा थप अवरुद्ध भएको छ । भूकम्पबाट बिटिएस टावर तथा ब्याकअपमा क्षति पुगेपछि दोलखा, सिन्धुपाल्चोक र रामेछापको फोन सेवा थप अवरुद्ध भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । १२ वैशाखमा आएको भूकम्पबाट नेपाल टेलिकमको दोलखामा भएको १२ मध्ये ५, रामेछापको १७ मध्ये १ र सिन्धुपाल्चोकको १९ मध्ये ९ वटा बिटिएस टावर सञ्चालन हुन सकेका थिएनन् । मंगलबारको भूकम्पले दोलखाको मुडे, सिन्धुपाल्चोकको डाँडापाखरलगायत स्थानमा रहेका केही बिटिएस टावरमा क्षति पुगेको टेलिकमले जनाएको छ । मुडेमा रहेको बिटिएस टावरमा आगो लागेको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए । त्यस्तै, १२ गते भूकम्पले एनसेलको रामेछापमा भएको ७ मध्ये १ र सिन्धुपाल्चोकको २३ मध्ये ८ बिटिएस चल्न सकेका थिएनन् । मंगलबारको भूकम्पले सिन्धुपाल्चोकको चौतारा, रामेछापको मन्थलीलगायतका स्थानमा भएको बिटिएसमा समेत क्षति पुर्‍याएको प्राधिकरणले जानकारी गराएको छ । मंगलबार मध्याह्न्न आएको भूकम्पले करिब ३२ जिल्लाको फोन तथा इन्टरनेट सेवामा क्षति पुर्‍याएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । यसमध्ये, रामेछाप, सिन्धुपाल्चोक र दोलखामा भएको टेलिफोन सेवामा सबैभन्दा बढी क्षति पुगेको जानकारी आएको उनले बताए । तर, क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए । गत १२ गते आएको भूकम्पका कारण क्षति पुगेका बिटिएस टावर अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । भूकम्प प्रभावित विभिन्न १३ जिल्लाका करिब ८ प्रतिशत बिटिएस टावर सञ्चालनमा आउन नसकेका हुन् । मंगलबारको भूकम्पले क्षति पुगेका बिटिएस टावरको संख्या बढाउने उनले बताए । भूकम्प प्रभावित रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, भक्तपुर, काठमाडौं, ललितपुर, धादिङ, नुवाकोट, लमजुङ, रसुवा र गोरखाका ९६ टावर अझै सञ्चालनमा आउन सकेको थिएन । पछिल्लो भूकम्पले थप बिटिएसमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । ती जिल्लामा नेपाल टेलिकम र एनसेलका गरी कुल १ हजार २ सय २९ वटा बिटिएस टावर छन् । समयमै मर्मत हुन नसक्दा ९६ वटा बिटिएस टावर अझै ‘डाउन’ रहेको सेवाप्रदायकले प्राधिकरणलाई जानकारी गराएका हुन् । डाउन भएका टावर यथाशक्य चाँडो पुन: सञ्चालनमा ल्याउन सेवा प्रदायकले काम गरिरहेको मिश्रले बताए । नेपाल टेलिकमको धादिङमा भएका ७ मध्ये २ बिटिएस टावर डाउन छन् । त्यस्तै, टेलिकमको दोलखामा भएको १२ मध्ये ५, काभ्रेको ३१ मध्ये १, नुवाकोटको १२ मध्ये २, रामेछापको १७ मध्ये १, रसुवाको ४ मध्ये २, सिन्धुपाल्चोकको १९ मध्ये ९, गोरखाको ३६ मध्ये ६, लमजुङको २७ मध्ये २ र मकवानपुरको ४४ मध्ये एउटा बिटिएस टावर डाउन छन् । टेलिकमको काठमाडौं उपत्यकामा रहेका ४ सय ४३ मध्ये २९ वटा टावर सञ्चालनमा आउन नसकेको प्राधिकरणले जनाएको छ । एनसेलको धादिङ, दोलखा, काभ्रे, मकवानपुर, रसुवा र गोरखाका सबै टावर सञ्चालनमा आइसकेका छन् । एनसेलको रसुवामा ५, गोरखामा ३३, धादिङमा ३१, दोलखामा १४, मकवानपुरमा ४४ र काभ्रेमा ३५ वटा बिटिएस टावर रहेका छन् । त्यस्तै, एनसेलको रामेछापमा भएको ७ मध्ये १, सिन्धुपाल्चोकको २३ मध्ये ८, लमजुङको १३ मध्ये १ र काठमाडौंका ३ सय ४७ मध्ये २१ वटा बिटिएस टावर सञ्चालनमा आउन सकेका छैनन् । प्राधिकरणले भूकम्पपछि सेवाप्रदायकको सेवा सञ्चालन अवस्थाबारे अनुगमन गर्दै आएको छ छ । वैशाख २६ मा गरिएको अनुगमनले साँखुमा एनसेलको सेवा ठप्प रहेको भेटिएको उनले बताए । त्यस्तै, सीतापाइला, मकवानपुर, विदुर, धादिङ बेसमा मोबाइल सेवामा अवरोध नभेटिएको प्राधिकरणले जनाएको छ ।