गत वैशाख १२ गएको भुकम्पमा परेकाहरुलाई अहिले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । संघसंस्था होस् वा सर्वसाधारण व्यक्ति, नेता होस् वा कलाकार सबैले आफ्नो औकातले भ्याएसम्म भुकम्प पीडितलाई सहयोग गरिरहेका छन् । सबैले सहयोग गर्दा देशका लागि खेल्ने खेलाडी अछुतो किन हुन्थे र ?

राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरमा परिचय बनाइसकेका कास्कीका खेलाडीहरुले भूकम्प पीडितलाई सहयोग गरेर यसको उदाहरण प्रस्तुत गरेका छन् ।

फुटवलका राष्ट्रिय स्ट्राइकर अनिल गुरुङ र भलिवलका अन्र्तराष्ट्रिय खेलाडी मञ्जु गुरुङ, सिपोरा गुरुङ र परिक्षा गुरुङले काभ्रेबासी भुकम्प पीडितलाई करिब ४ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेका हुन् । ‘एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु कर्तव्य हो’ राहत सामग्री वितरण गरेर फर्केकी मञ्जु गुरुङले भनिन्-‘हामीले पनि यहि भावनाले सामाजिक सञ्जाल फेसबुक र भाइबरबाट बिदेशमा रहेका साथीहरुसँग सहयोग संकलन गरेर राहत वितरण गरेका हौं ।’

भलिवल सुन्दरी सिपोरा गुरुङसहित पुगेको उक्त टोलीले काभ्रेको पाँचखालमा दैनिक खाद्य सामग्री चामल, तेलसहित झुल, कम्मल लगायतका लत्ता कपडा पनि हस्तान्तरण गरेको थियो ।

खेलाडीहरुको टोलीले यसअघि गोरखाबासीलाई पनि ३० हजार बराबरको राहत सामग्री पठाएको थियो ।