नाटकमार्फत दर्शकलाई मनोरञ्जन ज्ञान र चेतना बाँड्ने रंगकर्मीहरू मञ्च छोडेर पीडितका घाउमा मलम लगाउन अघि सरेका छन्। राजधानीका रंगमञ्चहरू अनिश्चितकालका लागि बन्द छन्। कलाकारहरू आफ्नो भूकम्पपीडितको लागि राहत वितरणमा जुटेका छन्।
वैशाख ४ गतेदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको थियो। सुन्धारास्थित थिएटर मलमा सोमबारदेखि ‘विम्बका सपना’ मञ्चन हुन तयार थियो। तर शनिबार भूकम्प आएपछि मञ्चन रोकिएको छ।
अनामनगरस्थित मण्डला थिएटरका कलाकार नाटक ‘सिरुमा रानी’को अभ्यास गरिरहेका थिए। अभ्यास गर्दागर्दै भूकम्प गएपछि कलाकार सकुशल बाहिर त निस्किए फेरि अभ्यासलाई निरन्तरता दिन सम्भव भएन।
देश नै शोकाकुल र भयग्रस्त भएको बेला रंगकर्मभन्दा राहतलाई प्राथमिकता दिएर अघि बढेका छन्। विपत्तिको समयमा मण्डला थिएटरले आफ्नो खुला जग्गामा सर्वसाधारणलाई बास थिएको थियो।
तीन दिन मण्डलामा पाल टाँगेर बसेका करिब ४० जनालाई मण्डलाले नै खानाको व्यवस्था गरेको थियो। भूकम्पले कुनै पनि थिएटरको भौतिक संरचनामा क्षति पुर्‍याएको छैन।
 ‘भौतिक रूपमा क्षति नपुगे पनि मानसिक रूपमा हामी दु:खी छौं’, शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले भने, ‘यस्तो दु:खको बेलामा नाटक देखाउने मनस्थिति नै छैन।’
शिल्पी ‘ह्वाट टु डु रिलोडेड’ को मञ्चन सकेर नयाँ नाटकको योजनामा थियो। भूकम्पले अहिले नयाँ नाटकको योजना पछि सरेको छ। शिल्पीका कलाकार पनि राहत संकलन र वितरणमा जुटेका छन्। ‘केही साथीहरू परिवार भेट्न घर गए केही कलाकार राहत उद्धारमा जुटेका छन्’, घिमिरेले भने।
केही समयपछि दर्शक र कलाकारको मनस्थिति सामान्य भएपछि भूकम्प पीडितको सहयोगको लागि च्यारिटी कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए।
रंगमञ्चका कलाकारहरू छरिएर बेग्लाबेग्लै संस्थाहरूसँग आबद्ध भएर राहत वितरणमा जुटिरहेका छन्। बूढानीलकण्ठस्थित आफ्नै घर भत्किएका कलाकार राम केएसी गाउँको लागि राहत संकलन गरिरहेका छन्।
‘देश दुखेको समयमा नाटक गर्नु त्यति उचित हुँदैन’ कलाकार दयाहाङ राइले भने ‘अहिले राहत नै ठूलो कुरा हो।’ मण्डलाले दसैंअगाडि नाटक ‘सिरुमा रानी’ मञ्चन गर्नेछ। कलाकार राज शाहले पनि यस्तो समयमा नाटकको विषयमा सोच्नै नभ्याएको बताए।
लाजिम्पाटस्थित थिएटर भिलेजमा महाभूकम्पको अघिल्लो दिन शुक्रबारदेखि नाटक ‘सिंहदरबारको टेन्डर’ मञ्चन सुरु भएको थियो। तर नाटक मञ्चन भएको दोस्रो दिन नै भूकम्प आएपछि नाटक अनिश्चितकालका लागि रोकिएको छ।
भिएटर भिलेजका रंगकर्मीहरू पनि राहतमै लागि परेका छन्। रंगकर्मीहरू यतिबेला राहत संकलन गर्ने र सम्बन्धित संस्थाहरूलाई उपलब्ध गराउने कार्यमा संलग्न छन्। अब कहिलेदेखि नाटक सुचारु गर्ने भन्ने विषयमा कुराकानी गर्नै नभ्याएको जानकारी रंगकर्मी जीवेश रायमाझीले दिए।